सडक सञ्चालनमा ल्याउन सरकार रातदिन सक्रिय छ : मन्त्री घिसिङ

२०८२ आश्विन १९, आईतवार

काठमाडौँ : हालैको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा सडक तथा पूर्वाधारमा ठूलो क्षति पुर्‍याए पनि सरकारले यातायात सुचारु गर्न तीव्रता दिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारको प्राथमिकता सडक खुलाउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा रहेको स्पष्ट पारेका छन् ।

बिपी राजमार्गअन्तर्गत नेपाल थोक खण्डमा आएको पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै मन्त्री घिसिङले त्यस क्षेत्रको सडक तीनदेखि चार दिनभित्र पुनः सञ्चालनमा ल्याइने बताएका छन् । उनले भने, ‘सडक खोल्ने काम थालिसकेका छौँ, आवश्यकता परे त्यो भन्दा पनि छिटो यातायात खुलाउनेछौँ।’

पूर्वका सडकहरूमा बढी क्षति भएकाले ती क्षेत्रमा पुनर्निर्माण कार्य तीव्र बनाइएको पनि मन्त्री घिसिङले बताए । उनले वैकल्पिक मार्गहरूको प्रयोग गर्न आम नागरिकलाई आग्रह गर्दै, सरकार सडक सञ्जाल सुचारु बनाउन रातदिन लागिरहेको बताएका छन् । साथै मानवीय क्षति न्यूनीकरणमा सबैको सतर्कता महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने, ‘इलामबाहेक अन्य स्थानहरूमा मानवीय क्षति न्यून हुनु हामी सबैको साझा प्रयासको नतिजा हो।’

मन्त्री घिसिङले यस वर्षको मनसुनजन्य जोखिम लगभग टरेको भन्दै आगामी दिनमा पूर्वाधार विकास र जोखिम न्यूनीकरणमा अझ बढी लगानी गरिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार