सप्तरी : नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको आइतबार उद्वार गरेको छ ।
नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आज उद्वार गरिएको नेपाली सेनाले जनाएको छ । राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरिएको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले बताए ।
उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा सुरक्षित पु¥याएको जनाइएको छ । वर्षाका कारण सप्तरीका तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले जानकारी दिए । बोचनी क्षेत्रमा बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए ।
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित बोचही पोखरिया बस्ती डुबानमा परेको छ ।





