काठमाडौं : जेनजी आन्दोलनमा दमन गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको छ ।
सोमबार मध्यराति प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेकी हुन् ।
ओली–लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत दबाब बढेको र सुदन गुरुङको समूहले अल्टिमेटम दिएपछि उत्पन्न परिस्थितीबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सुरक्षा निकायका प्रमुखहरूले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले जेन–जी प्रदर्शनमा राज्य पक्षबाट भएको बल प्रयोगबारे छानबिन गरिरहेका बेला पक्राउ गर्न नहुने सुझाव दिएका छन् ।
सुरक्षा प्रमुखको सुझावमा केही जेनजी अगुवाले समेत समर्थन जनाएका छन् । कतिपय जेनजी अगुवा भने ओली लेखकलाई तत्काल पक्राउ गर्नुपर्ने बताउँछन् । सुदन गुरुङ समूहका एक जेनजी भन्छन्, ‘त्यत्रो ७५ जनाको हत्या भएको छ । जेनजी आन्दोलन ओलीलाई हटाउन र चुनाव गराउन मात्रै भएको हो ?’
अहिले उनीहरूलाई पक्राउ गर्दा आयोगको काम प्रभावित हुने र मौन बसेका दलहरूसमेत प्रतिवादमा उत्रने सम्भावना रहेको एक सुरक्षा अधिकारीले औँल्याएका छन् । यसले अर्को रक्तपात निम्तिन सक्ने उनको चिन्ता थियो ।





