बालेन पनि अनुसन्धानको दायरामा आउनुपर्छ : शेर्पा

२०८२ आश्विन २७, सोमबार

काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बालेनले सिंहदरबार जलाउनुपर्छ भनेर युवाहरूको ‘माइन्डसेट’ गरेको बताए । बालेनले गत भदौ २३ गतेको आन्दोलन आह्वान गरेकाले उनलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने अध्यक्ष शेर्पाले बताए ।

सोमबार काठमाडौंमा भएको एक पत्रकार सम्मेलनमा अध्यक्ष शेर्पाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि बयान लिएर अनुसन्धान अघि बढाउनुपर्छ भनेर आफूहरूले भदौ २३ गते बेलुका नै भनेको स्मरण समेत गरे ।

‘दोषी देखिए उहाँहरूलाई पनि कारबाही गर्नुपर्छ भनेर हामीले यो आज मात्रै होइन, सेप्टेम्बर ८ को बेलुका जुन घटना घट्यो, त्यतिबेला नै हामीले प्रधानमन्त्रीज्यू र गृहमन्त्रीज्यूले यसको नैतिक जिम्मेवारी लिनुपर्छ,  उहाँहरूले राजीनामा दिनुपर्छ र, शक्तिशाली छानबिन आयोग गठन गरेर यसको निकास दिनुपर्छ भनेर भनेका थियौं’, अध्यक्ष शेर्पाले भने, ‘अहिले पनि त्यो विषयमा हाम्रो स्पष्ट धारणा छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीज्यूलाई पनि छानबिनको दायरामा ल्याएर दोषी देखियो भने उहाँहरूलाई पनि कारबाही गर्नुपर्छ । र, त्यो छानबिनको दायरामा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह पनि आउनुपर्छ ।’

बालेनले आफूलाई जेनजी आन्दोलनको लिडर भनिरहेको समेत शेर्पाले बताए । उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ भन्ने नेपाल विद्यार्थी संघको ठम्याइ रहेको शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार