काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले तालिकाको शीर्षक स्थानको ओमानको सामना गर्दैछ ।
यो खेल नेपालको २०२६ को टी-२० विश्वकप यात्राका लागि निर्णायक मोड बन्नेछ । यसअघि सुपर सिक्समा युएईलाई १ रन र कतारलाई ५ रनको रोमाञ्चक अन्तरले पराजित गर्दै नेपालले आफ्नो बलियो उपस्थिति दर्ता गराइसकेको छ । आज राति ८:४५ बजे सुरु हुने ओमानविरुद्धको खेलमा विजयी भएमा नेपाल सीधै टी-२० विश्वकपका लागि छनोट हुनेछ ।
सुपर सिक्सको अंकतालिकामा ओमान र नेपाल दुवैले समान ६-६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा अटाएको छ । दुई अंकसहित युएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने कतार र सामोआ अंकविहीन छन् ।





