काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले गत आवको मुनाफबाट आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, आव २०८२/८३ का लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्त गर्ने लगायत सभा समक्ष प्रस्तुत सबै प्रस्तावहरू एकमतले पारित भएका छन् ।
शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक रुचाइएको शिवम् ब्रान्डको ओपीसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडको ८५ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनी हो । बाँकी १५ प्रतिशत शेयर नेपालका विभिन्न क्षेत्रमा सफल उद्यमी तथा व्यवसायीहरूको व्यक्तिगत लगानीमा रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८–७९ देखि लगातार चौथो पटक (२०८१–८२ सम्म) सेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ ।
कम्पनीको हालको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ । साथै, कम्पनीले २० प्रतिशत बराबरको १ अर्ब १६ करोड मूल्यका शेयरहरू सर्वसाधारणमा प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरिसकेको छ । हाल स्वीकृतिको प्रतिक्षामा रहेको जानकारी कम्पनीले जनाएको छ ।
शिवम् होल्डिङ्स लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमता भएको होंशी शिवम् सिमेन्ट आफ्नो महत्वपूर्ण शेयर लगानी गरेको छ । उक्त कम्पनीमा ३० प्रतिशत नेपाली (शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ । उद्योग गण्डकी प्रदेश, पूर्वी नवलपरासी, विनयी त्रिवेणी गाउँपालिका, सर्दीमा अवस्थित छ ।
उक्त अत्याधुनिक प्रविधियुक्त उद्योगले दैनिक ६ हजार मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्न सक्ने क्षमता राख्दछ । साथै, उद्योगमा प्रयोग भएको मेसिनरीबाट उत्पन्न वेस्ट हीटबाट करिब १२ मेगावाट विद्युत् शक्ति उत्पादन गरी आफैं प्रयोग गरिने व्यवस्था रहेको छ । उद्योग हाल पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ ।





