काठमाडौं : नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले हिजो आफूलाई आतंककारी भन्नेले आज जेन–जीलाई आतंककारी भनिरहेको दाबी गरेका छन्। शनिवार एक कार्यक्रममा बोल्दै दाहालले यस्तो दाबी गरेका हुन्।
‘देशभित्र दुइटा विचारहरू छन्, एउटा विचारले भनिरहेको छ तपाईँ(जेन–जी)हरूलाई आतंककारी,’ दाहालले भने, ‘तपाईँहरूले सुन्नुभएको छ नि, तपाईँहरूको आन्दोलनलाई आतंककारीहरुको आन्दोलन भन्ने विचार छ।’ एक थरी पार्टी र नेताहरूले त्यसो भनिरहेको दाहालले दाबी गरे। उनले भने, ‘तपाईँहरूलाई आतंककारी भन्दा चसक्क बिझ्ने।’
हिजो आफूले आन्दोलन गर्दा आफूलाई पनि आतंककारी भनेको भन्दै दाहालले आफूसँग दाँजे। ‘हिजो उत्पीडित जाति, वर्ग, क्षेत्र, लिङ्ग, समुदायको हक अधिकारको निम्ति लड्न खोज्दा हामीलाई आतंककारीकै आरोप लगाइन्थ्यो,’ दाहालले भने। आफ्नो भनाई जेन–जीले बुझ्छन् या बुझ्दैनन् आफूलाई थाहा नभएको उनले बताए।





