काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुष्मनी लिइरहेको आरोप लगाएका छन् ।
बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।
सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरुलाई कारबाही नगरेर अर्को मुलुकमा अर्को आन्दोलनको बिजारोपण गरिरहेको उनको आरोप छ ।
‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ । दु:ख परेकामाथि उहाँको दुष्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुष्मनी छ । सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ । जेनजी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’
उनले सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुष्मनी साँधिरहेको आरोप लगाए । सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।





