एमालेले महाधिवेशन प्रतिनिधिको सङ्ख्या बढाउँदै

२०८२ कार्तिक ७, शुक्रबार

काठमाडौं : नेकपा एमालेले आगामी मङ्सिर २७, २८ र २९ गते पोखरामा हुने ११ औँ महाधिवेशनको तयारी तीव्र पारेको छ । केही दिनभित्रै केन्द्रीय सचिवालय बैठक बसेर महाधिवेशन प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गरिने भएको छ ।

गत असोज ३१ गते बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोके पनि कार्यतालिका र छनोट प्रक्रिया तय भएको छैन । एमालेले सचिवालय बैठकअघि सङ्गठन विभागले प्रतिनिधि छनोटको खाका तयार पार्ने भएको छ । उक्त खाकालाई सचिवालयले अन्तिम रूप दिएर सर्कुलर पठाइने छ ।

ठूलो राजनीतिक उथलपुथल नभए महाधिवेशन तोकिएकै मितिमा हुने एमालेले जनाएको छ । महाधिवेशन सुरु हुनुभन्दा १५ दिनअघि देशभर एकै दिन प्रतिनिधि छनोट सम्पन्न गरिनेछ । प्रदेश निर्वाचन क्षेत्र, जनसङ्गठन र विभागलाई आधार मानेर महिला, दलित, जनजातिलगायतलाई समेटेर प्रतिनिधि छनोट हुने एमालेले जनाएको छ ।

जिल्ला कमिटीले छनोट गरेका प्रतिनिधिको विवरण र फोटो केन्द्रमा पठाएपछि रुजु गरी फाइनल गरिनेछ । एमालेसँग साढे ६ लाख सदस्य छन् । अघिल्लो महाधिवेशनको तुलनामा २८ प्रतिशत सदस्य वृद्धि भएकोले यसपटक ३ हजार हाराहारी प्रतिनिधि हुन सक्ने अनुमान छ । चार वर्षअघि चितवनमा भएको दशौँ महाधिवेशनमा २,१५३ प्रतिनिधि सहभागी थिए, जहाँ केपी ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार