काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले हालसम्म कुनै पनि दलसँग एकता गर्ने निर्णय नभएको स्पष्ट पारेको छ।
हाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी सहितका दलहरूसँगको एकता अन्तिम चरणमा पुगेको चर्चा चलिरहेका बेला प्रचण्डको सचिवालयले वक्तव्य जारी गर्दै समाचार र अफवाह सत्य नभएको जनाएको हो ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू र अन्य वामपन्थी तथा प्रगतिशील समूहहरूसँग सामाजिक रूपान्तरण र समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न वैचारिक र सङ्गठनात्मक स्तरमा गहिरो छलफल भइरहेको छ ।
तर हालसम्म कुनै पनि दलसँग एकता गर्ने वा औपचारिक सहमति गर्ने अन्तिम निर्णय भएको छैन। आचार्यका अनुसार नेपाली जनताको अगुवाइमा भएका ऐतिहासिक क्रान्ति र सङ्घर्षका उपलब्धि जोगाउँदै बाँकी कार्यभार पूरा गर्न एकता अपरिहार्य रहेको माओवादी केन्द्रको धारणा हो।
तर सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले प्रचार गरेको एकता टुङ्गिएको वा नजिकिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्दै सचिवालयले आधिकारिक निर्णय आउँदासम्म भ्रममा नपर्न आग्रह गरेको छ।











