गुण्डुमा ओली निवास बनाउन चन्दा उठाइँदैन : महेश बस्नेत

२०८२ कार्तिक ८, शनिबार

काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासका लागि कुनै पनि प्रकारको चन्दा संकलन नगरिने स्पष्ट पारेका छन्।

जेन-जी आन्दोलनका क्रममा ओलीको निजी निवास जलेपछि गुण्डुमा नयाँ घर निर्माण गर्ने पहल भइरहेको सन्दर्भमा केही सञ्चारमाध्यममा चन्दा संकलन भइरहेको समाचार आएको भन्दै नेता बस्नेतले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले लेखेका छन्, ‘ओली निवास निर्माणमा चन्दा उठाइँदैन। गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा गुण्डुबासीकै हातबाट, गुण्डुबासीकै मनबाट यो निवास बन्नेछ।’ उनले यसलाई गाउँकै आफ्नै पहल भएको बताए।

केही व्यक्तिहरूले भावनात्मक रूपमा सहयोग गर्ने इच्छा देखाएको भए पनि चन्दा उठाउने कुनै योजना नरहेको उनले प्रस्ट पारे। ‘कतिपय साथीहरूले भावनात्मक हिसाबले चन्दा दिन्छु भन्नुभएको छ, तर चन्दा उठाउने कुनै योजना छैन। कसैसँग पनि चन्दा उठाइँदैन,’ उनले लेखेका छन्, ‘यो हाम्रो आत्मीयता, स्नेह र गौरवको प्रतीक हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार