माइतीघर मण्डलालाई एकपक्षीय बनाइयो : शंकर पोखरेल

२०८२ कार्तिक ८, शनिबार

काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राज्यले माइतीघर मण्डलालाई विभेदपूर्ण तरिकाले एक पक्षको मात्रै प्रदर्शनस्थल बनाएको आरोप लगाएका छन्।

शनिबार अनुमतिविना प्रदर्शन गर्न खोजेको भन्दै प्रहरीले ५० जना युवालाई पक्राउ गरेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्। उनले राज्यप्रतिका असन्तुष्टि, फरक मत र जनआवाज उठाउने साझा थलो माइतीघर मण्डलालाई एकपक्षीय बनाइएको बताए।

पोखरेलले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपालका संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूले मात्रै माइतीघरमा प्रदर्शन गर्न पाएको तर अन्यलाई निषेध गरिएको आरोप लगाए।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन- सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।’ उनले माइतीघर सबैको आवाज उठाउने थलो भएको बताउँदै अन्य पक्षलाई निषेध गर्नु कानुनी राज्यको उपहास भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार