काठमाडौँ : नेपालको बैंकिङ क्षेत्र पछिल्ला दशकमा तीव्र प्रविधिमैत्री हुँदै आएको छ । मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, अनलाइन कारोबार र डिजिटल वालेटजस्ता माध्यमले बैंकिङ सेवालाई ‘हातको मोबाइलसम्म’ पु¥याइसकेका छन् ।
तर कामना सेवा विकास बैंक लिमिटेडले ल्याएको डोरस्टेप बैंकिङ सेवा यस यात्रामा नयाँ माइलस्टोनको रूपमा देखिन्छ। अब बैंकिङ सेवा केवल बैंक शाखामा सीमित रहँदैन, ग्राहकको घर वा कार्यालयसम्म पु¥याइन्छ । कामना सेवा विकास बैंक लिमिटेड सन् २०६४ सालमा स्थापना भएको एक अग्रणी विकास बैंक हो, जसले ‘प्रगतिको आधार, कामना सेवासँग कारोवार ’भन्ने नारा बोकेको छ ।
बैंकले डिजिटल बैंकिङ, मोबाइल एप, इन्टरनेट बैंकिङ, एटीएम सुविधा, लकर सेवा र अनलाइन कारोबारमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ । ग्राहक सन्तुष्टि र पहुँच केन्द्रित नीति बैंकको मूलधारमा रहेको छ। हाल देशभर शाखा विस्तारसहित विभिन्न शहर र जिल्लामा सेवा पु¥याइरहेको यस बैंकले आफ्नो विश्वसनीयता र नवप्रवर्तनात्मक छविलाई अझ सुदृढ बनाउँदै आएको छ ।
डोरस्टेप बैंकिङ सेवा, जुन ‘विशिष्ट बचत खाता’अन्तर्गत सुरु गरिएको छ, अत्याधुनिक प्रविधिमा आधारित छ। यस मार्फत ग्राहकले नगद जम्मा, रकम निकासी, चेक बुक माग, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट जस्ता सेवा आफ्नै घर वा कार्यालयमै बसेर निशुल्क प्राप्त गर्न सक्छन् । मोबाइल बैंकिङ एपमार्फत सेवा अनुरोध गरेपछि बैंकका प्रशिक्षित प्रतिनिधि तोकिएको स्थानमा पुगेर सेवा उपलब्ध गराउँछन् । यसरी बैंक ग्राहकको नजिक पुग्छ, न कि ग्राहकले बैंक खोज्नुपर्ने बाध्यता रहन्छ।
मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल भन्छन्, “हामीले ग्राहक सन्तुष्टिलाई केन्द्रमा राख्दै यो सेवा सुरु गरेका हौं। व्यस्त व्यवसायी, गृहिणी, कार्यालय कर्मचारी र ज्येष्ठ नागरिकका लागि यो सहज र सुरक्षित विकल्प हुनेछ ।” कामना सेवाले डोरस्टेप बैंकिङसँगै आफ्ना अन्य बैंकिङ सेवाहरूमा पनि निरन्तर नवप्रवर्तन गर्दै आएको छ । मोबाइल र इन्टरनेट बैंकिङको माध्यमबाट ग्राहकले आफ्नो खाताको अवस्था अवलोकन, रकम ट्रान्सफर, बिल भुक्तानी र QR भुक्तानी गर्न सक्छन् ।
देशभर पहुँचयोग्य एटीएम र डेबिट कार्ड सुविधा उपलब्ध छ भने ग्राहकको मूल्यवान कागजात र सम्पत्ति सुरक्षित राख्न लकर सेवा पनि प्रदान गरिन्छ । बैंकले व्यक्तिगत बचत खाता, आवासीय र व्यवसायिक ऋण, साना, मध्यम र ठूलो व्यवसायका लागि वित्तीय समाधानलगायतका सेवाहरू पनि उपलब्ध गराएको छ । यसरी बैंकले ग्राहकको दैनिक आवश्यकता अनुसार सेवा विविधता प्रदान गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा ग्राहकमूलक र समावेशी बैंकिङ सेवा प्रवद्र्धनमा जोड दिएको छ । डिजिटल माध्यमबाट सेवा विस्तार, ग्रामीण र असक्षम समूहसम्म बैंकिङ पहुँच पु¥याउने, वित्तीय समावेशीकरणमा योगदान दिने तथा ग्राहक विश्वास र बैंकिङ पहुँचलाई सुधार गर्ने कार्य राष्ट्र बैंकको दीर्घकालीन प्राथमिकता हो । डोरस्टेप बैंकिङ यसै नीतिको व्यावहारिक विस्तारका रूपमा लागू गरिएको छ । यसले डिजिटल बैंकिङलाई व्यवहारिक, सर्वसुलभ र ग्राहकमैत्री बनाउने उद्देश्य राखेको छ ।
विश्वका विकसित मुलुकहरूमा कन्सियर्ज वा डोरस्टेप बैंकिङ सेवा उच्चस्तरीय ग्राहक सेवा र प्रत्यक्ष पहुँचको प्रतीक मानिन्छ। नेपालमा यस अवधारणालाई पहिलोपटक कामना सेवाले व्यवहारमा ल्याएको छ। यसले ग्राहक अनुभव मात्र सुधार्दैन, बैंकिङ प्रतिस्पर्धा र नवप्रवर्तनको दिशामा नयाँ आयाम थप्ने काम गर्छ।
हाल यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध छ। निकट भविष्यमा देशभरका प्रमुख शहर र प्रदेश केन्द्रमा विस्तार गर्ने योजना बैंकले बनाएको छ। यससँगै लकर सुविधा, एटीएम/डेबिट कार्ड र मोबाइल बैंकिङ सेवासमेत निशुल्क उपलब्ध हुनेछ । डिजिटल प्रणाली सुदृढ गर्ने, प्रशिक्षित प्रतिनिधि सुनिश्चित गर्ने र सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिने रणनीति बैंकले अपनाएको छ।
डोरस्टेप बैंकिङले ग्राहकको समय बचत, सहजता र सुरक्षा सुनिश्चित गर्छ। बैंकका लागि यसले ग्राहक सन्तुष्टि, ब्रान्ड विश्वसनीयता र नवप्रवर्तनात्मक छवि प्रदान गर्दछ। यद्यपि प्रारम्भिक चरणमा प्रतिनिधि प्रशिक्षण, सुरक्षा व्यवस्थापन, सेवा समय सुनिश्चितता र डिजिटल प्रणालीको विश्वसनीयता सुनिश्चित गर्नु चुनौती रहन सक्छ। तर दीर्घकालीन दृष्टिले यसले बैंकिङ पहुँच, डिजिटल वित्तीय समावेशीकरण र ग्राहक अनुभवमा सुधार ल्याउने बैंकको अपेक्षा छ ।











