काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गणेश कार्कीले जेन-जी प्रदर्शनमा आफ्नो सहभागिता स्वीकार्दै तत्कालिन केपी शर्मा ओली सरकारको कुशासन र दमनविरुद्ध आन्दोलनमा उभिएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘अँ, म आन्दोलनमा गएकै हो। ओली सरकारले शासनभरि नागरिकको अपमान गरेर, २३ गते शान्तिपूर्ण आन्दोलन गर्नेहरूमाथि गोली बर्षाएर मनमा आगो भरेकै हो। २३ गते त्यस्तरी मान्छे नढलाएको भए २४ गते त्यसरी आउने थिएन। त्यो आगोको जिम्मा ओली सरकार र तिनका मतियारहरूको हो।’
कार्कीले सरकारको दमनकारी नीतिलाई दोष दिँदै आन्दोलनमा सहभागी हुनु आफ्नो नागरिक कर्तव्य भएको जिकिर गरेका छन्। उनले थपे, ‘जसले मान्छेको ज्यानभन्दा इँटाको धुलो र काठको खरानी ठूलो देख्दै छन्, र आन्दोलनमा जानेहरूलाई खलनायक भन्दै छन्, पढ्नुहोला, हो, म आन्दोलनमा गएकै हो। कुशासन मच्चाउने, नागरिकलाई छुसी जति पनि नसोच्ने सरकारको विरोध गरेकै हो।’
उनले सत्ताको दुरुपयोग र नागरिकलाई बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध आन्दोलन आवश्यक भएको बताए। ‘नागरिकलाई मान्छे नगन्नेहरू सत्तामा रहुन्जेल, तिनको वरिपरि घुमेर सत्ताको स्वाद चाख्दै तिनलाई उचाल्नेहरू रहुन्जेल, मान्छे ढाल्दै कुर्सीमा टाँसिए पनि कोही सुरक्षित नहुने रैछ भनेर २४ गतेको आगोले देखाएकै हो,’ उनले लेखे।
कार्कीले आफूले हिंसात्मक गतिविधिमा भाग नलिएको स्पष्ट पारे। ‘मैले कतै ढुंगा हानिनँ, कतै आगो बोकिनँ, आगो लागेको कुनै स्थानको कम्पाउन्डमा पनि म थिइन तर म सहभागी भएको आन्दोलनमा सरकारी दमनमा परेर होस् कि जलेर होस्, मान्छे मरेकोमा जीवनभर दुख लागिरहने छ। उनीहरूले र उनीहरूका परिवारले न्याय पाउन्,’ उनले भनेका छन्।












