काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबारे विभिन्न चर्चा परिचर्चाका भइरहँदा पार्टीको केन्द्रीय समितिको बैठक १३ कात्तिकबाट नियमित हुँदैछ ।
असोज २८ बाट जारी बैठकको पहिलो दिन सभापति शेरबहादुर देउवाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणासँगै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए ।
कांग्रेसलाई बलियो बनाउन सबै मिलेर अघि बढ्न आग्रह गरेका देउवाले आफ्नो उत्तराधिकारीका रूपमा खड्कालाई नै रोजेका हुन् । पार्टी विधानले पनि उनको विकल्प खोज्दा थप जटिलता उत्पन्न हुन सक्ने कुरालाई ख्याल गरेर देउवाले गरेको सहज बहिर्गमनले समग्रतामा निकै सकारात्मक सन्देश प्रवाह भएको छ ।
योसँगै कांग्रेसमा नयाँ नेतृत्व स्थापित हुने पक्का भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ३० असोजबाट बसेको बैठक कात्तिक १३ गतेसम्मलाई सारेर तिहार तथा छठ मनाउन बिदा दिइएको छ । यो बैठकले पार्टीको आन्तरिक राजनीतिक जीवनको महत्वपूर्ण पक्ष महाधिवेशन र देशको धुमिल राजनीतिलाई सङ्लो बनाउने विषयमा निर्णय लिने छ । कांग्रेसको बैठकलाई सबै तह र तप्काबाट विशेष महत्वका साथ हेरिएको छ ।
यो बैठकले पार्टी रूपान्तरण, नेतृत्वको पुस्तान्तण र देशको जटिल राजनीतिक अवस्थालाई आफ्नै नेतृत्वमा सहज अवतरण गर्ने निर्णय हुने भएकाले कांग्रेस केन्द्रीय समितिको बैठकलाई राजनीतिक महत्वका साथ लिइएको हो । १५औं महाधिवेशनको कार्यतालिकासहित निष्कर्ष निस्कने भएकाले नेताहरू आगामी नेतृत्वको तयारीमा व्यापक जुटेका छन् । कांग्रेसको यो महाधिवेशनमा ३ वटा समूह बलियो बन्ने देखिएको छ ।
अघिल्लोपटक देउवासँग सभापति लडेर दोस्रो भएका नेता शेखर कोइराला, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र शेखरकै समूहबाट महामन्त्री जितेका गगन थापा सभापतिका लागि बलियो दाबेदार बन्ने पक्का भएको छ । वर्तमान संस्थापन समूहबाट खड्का, संस्थापनइतर समूहबाट कोइराला र नयाँ समूह बनाउने तयारीमा रहेका गगनबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ ।











