काठमाडौं : नेकपा (एमाले)का नेता योगेश भट्टराईले राजनीतिलाई अवरोध गरे ठूलो संकट निम्तिन सक्ने चेतावनी दिएका छन् ।
छठ पर्वको अवसरमा भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै उनले प्रकृतिको बहाव रोक्दा उत्पन्न हुने विनाशको उदाहरण दिँदै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘जसरी प्रकृतिलाई थुनेर वा छेकेर विध्वंश निम्तिरहेको छ, त्यसैगरी राजनीतिलाई पनि थुन्न, छेक्न वा बाटो रोक्न थाल्यौँ भने ठूलो बितण्डा आउन सक्छ,’ फेसबुकमा सार्वजनिक भिडियोमा भट्टराईले भनेका छन् । पार्टी र समाजमा राजनीतिको प्राकृतिक बहावलाई अवरुद्ध नगरी सहज रूपमा अगाडि बढ्न दिनुपर्ने उनको भनाइ छ ।
‘चाहे पार्टीभित्र होस् वा समाजमा, राजनीतिलाई यसको स्वाभाविक गतिमा चल्न दिनुपर्छ,’ उनले भने । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई ‘अकल्पनीय तर महत्त्वपूर्ण’ घटना बताउँदै भट्टराईले सबैले त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन् । ‘ती घटनाबाट आत्मसमीक्षा गर्नुपर्छ । नेपाललाई पुनः लोकतान्त्रिक अभ्यासमा फर्काऔँ र संविधानलाई पूर्ण रूपमा क्रियाशील बनाऔँ,’ उनको भनाइ छ ।
साथै, उनले सबै राजनीतिक दल र जेनजी आन्दोलनपछि उदाएका नयाँ शक्तिहरूबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् । ‘देशका सबै शक्तिहरू मिलेर सही निकास निकाल्नुपर्छ । यो छठले हामीलाई एकता र सद्भावको सन्देश दिन सकोस्,’ भट्टराईले भनेका छन् ।











