हेटौँडा : मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मनहरी गाउँपालिका–७, लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक केदार श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटरमा सवार श्रेष्ठकी श्रीमती र छोरा घाइते भएका छन् । आइतबार बिहान ९ः२५ बजेको समयमा चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र. २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सिन्धुपाल्चोक, चौतारा नगरपालिका–५ का ३० वर्षीय श्रेष्ठको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
दुर्घटनामा स्कुटरको पछाडि सवार उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठ घाइते भएको प्रवक्ता बोगटीको भनाइ छ । दुवै जनाको चितवनस्थित एलाईभ अस्पतालमा उपचार भइरहेको छ । सरस्वतीको अवस्था गम्भीर रहेको छ भने छोरा प्रविनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने ग्यास बुलेट र त्यसका चालक भारत, बिहारका ५५ वर्षीय मोहमद मतिनलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको प्रवक्ता बोगटीले बताए ।











