एक पटक चिठ्ठा पर्‍यो भन्दैमा बारम्बार पर्दैन : रवि लामिछाने

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकारप्रति रोष प्रकट गरेका छन् ।

आफूलाई अघिल्लो सरकारले राजनीतिक प्रतिशोधमा फसाएको दोहोर्याउँदै उनले वर्तमान सरकार समेत आफ्ना लागि केही नबोलेकोमा आक्रोशित देखिएका हुन् । बुधबार लामिछानेलाई नख्खु कारागारमा भेटेर फर्किएपछि रविका निकट प्रमोद न्यौपानेले रविले कारागारबाट चार सन्देश दिएको उल्लेख गरेका छन् ।

न्यौपानेका अनुसार सरकारमा जानुअघि ‘अन्याय भयो’ भन्नेहरुले रविको पक्षमा केही नबोलेपछि उनले ‘एक पटक चिठ्ठा पर्यो भन्दैमा बारम्बार नपर्ने’ चेतावनी दिएका छन् । उनले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ भन्दै आवश्यक पर्दा नेतृत्व र त्याग दुवै गर्न तयार रहेको बताएका छन् ।

न्यौपानेले लामिछाने पूर्ववत स्वस्थ, दृढ र आत्मविश्वासी रहेको उल्लेख गर्दै उनका चार बुँदे सन्देश सामाजिक सञ्जालमार्फत स्पष्ट पारेका छन् ।

यस्ता छन् रविका चार सन्देश

१) अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा मविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेवर’ होइन। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नु पर्ला !

२) पछिल्लो जनमतका आधारमा चौथो शक्ति हुनुको नाताले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ। आवश्यक पर्दा रास्वपाले नेतृत्व र त्याग दुबै गर्छ।

३) एकपटक चिठ्ठा परेकाहरू पटक-पटक परोस् भन्ने ठान्छन्। तर, संयोग दोहोरिरहँदैन नि ! भर्खरै चिठ्ठा परेका केहीलाई फेरि चिठ्ठाकै आशर लोभ छ। लोभीहरूले चिठ्ठा किन्न सक्छन। तर, फेरि पर्छ नै भन्ने हुन्न। हरेक जालमा माछा पर्दैन नि !

४) रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनु छ। त्यो क्षणिक लाभ-हानी सोचेर बन्दैन। अत्यन्तै खराव परिस्थिति आए पनि रास्वपालाई एक नम्बरको शक्ति बनाउने दृढतामा कमजोर हुन्न, मेहनत र समय कति लाग्छ त्यो ठूलो कुरा होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार