कास्की : जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ।
प्रशासनले बिहीबार सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजिअ शिवप्रसाद लम्सालले बताए।
प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।










