काठमाडौं : नेपाल प्रहरीमा पछिल्लो तीन महिनामा साढे ४ सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । प्रहरीका अनुसार २० वर्ष सेवा पूरा गरेका र कोही ५ वर्ष मात्रै सेवा गरेकाले राजीनामा दिएका छन् ।
केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका थिए । उनले ‘व्यक्तिगत’ कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् ।
घरायसी र व्यक्तिगत कारण देखाएर तल्लो तहका प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको उनले जानकारी दिए । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० र अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् ।









