काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग पार्टी एकताको अन्तिम तयारी गरिरहेका बेला असन्तुष्ट पक्षका नेताहरू सामाजिक सञ्जालमार्फत धमाधम विरोध गर्न थालेका छन् ।
सो पार्टीको आज सकिने केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी लगायत विचार मिल्ने पार्टीसँग एकता गर्ने प्रस्ताव पारित गर्दैछ ।
प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले सामाजिक सञ्जालमा अध्यक्ष नेपालको चर्को विरोध गरेका हुन् । अर्यालले शुक्रबार बिहान अध्यक्षले विधान विपरीत ८१ जना केन्द्रीय सदस्य मनोनीत गरेर बहुमत देखाउन खोजेको बताएका छन् ।
‘मनोनीत गर्दै जानुहोस् ! बहुमत सिद्ध गर्दै जानुहोस् !’, अर्यालले लेखेका छन्, ‘तर याद गर्नोस्,कमरेड ! तपाईंको ‘कमिटी बहुमतले’ समाजको बहुमत सिद्ध गर्दैन । समाजमा हामी निरन्तर अल्पमतमा पर्दै गइरहेका छौँ ।’










