काठमाडौं : धनुषाको गणेशमान चारनाथ नगरपालिकामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ।
दुर्घटनामा मृतक दम्पतीका दुई बालबालिका गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार साँझ वीरेन्द्रबजारस्थित लोकमार्गमा विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको सु.प्र.०१-००१ ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.२-०१-००१ ह १२३० नम्बरको अटोलाई ठक्कर दिएको थियो।
दुर्घटनामा परी अटोमा सवार चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका–४ का ४० वर्षीय रमेश मगर र उनकी श्रीमती ३५ वर्षीया निशा मगर रहेका छन्। उनीहरूका १४ वर्षीया छोरी सितल र ८ वर्षीय छोरा रोशन गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था चिन्ताजनक रहेको र जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, दुर्घटनामा सोही नगरपालिका-१ का ३५ वर्षीय शम्भु मगर र ४० वर्षीय डमर राईको पनि मृत्यु भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





