काठमाडौं : बुटवलको मिलनचोकस्थित एक होटलमा परस्त्रीसँग बसेका पुरुषको रहस्यमय मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-६ चाँदबारीका ५६ वर्षीय सतिशकुमार क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनी शनिबार दिउँसो बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटेल एन्ड लजमा एक विवाहित महिलासँग पुगेका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार क्षेत्रीको मृत्युबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
क्षेत्रीको शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको र रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने उनले बताए । ‘शवमा बाहिरी चोटपटक केही देखिएको छैन । पोस्टमार्टम रिपोर्ट नआएसम्म मृत्युको कारणबारे भन्न गाह्रो छ,’ डीएसपी रानाले भने ।
प्रहरीका अनुसार, शनिबार दिउँसो बुटवल-२ पाखा पानीकी ३० वर्षीया महिलासँग क्षेत्री होटलमा प्रवेश गरेका थिए । प्रहरीले घटनाको सम्बन्धमा क्षेत्रीसँगै रहेकी महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।





