काठमाडौँ : पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् ।
गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा. यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा. यादवसँग भेटवार्ता गरेका हुन्।
त्यसक्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थिए । उनले ‘जेन जेड’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराए ।
सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको भन्दै मन्त्री अर्यालले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति डा. यादवलाई समाजका सबै पक्षलाई निर्वाचन उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह गरेका थिए ।
पूर्वराष्ट्रपति डा. यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गरे। पूर्वप्रधान न्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्ति सामेल भएका कारण अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको उनको भनाइ थियो ।
पूर्वराष्ट्रपति डा. यादवले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्भ स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव पनि सुनाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
“त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको थियो । पछिल्लो अवस्थाअनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईँहरू मेहनतका साथ लागिरहनुभएको छ । यो सराहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ”, उनले भनेका थिए ।
पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिए ।
डा. यादवले भने, “तोकिएको समयमा चुनाव हुन सकेन भने भोलि अर्को ठूलो संकट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्छ । हालको व्यवस्था र प्रक्रिया ‘डिरेल’ भयो भने ‘प्यान्डोरा’ बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरूले जे गरिरहनुभएको छ त्यो ठिक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक केन्द्रित भएर लागेको मलाई महसुस भएको छ ।”











