काठमाडौँ : आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि युएईसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबईको आइसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो।
नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। ६८ बलमा ७ चौका सहयोगमा ४८ रन बनाएका भिम ध्रुव परासरको बलमा क्याच आउट भए।
ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाउँदा रन आउट हुन पुगे।
४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएका दिपेन्द्रसिंह ऐरि रन आउट हुन पुगे।
आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए।
त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट नै भए। युएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरेका छन्। नन्दल यादव १ रनमा बोल्डआउट भए। करण केसी शून्य रनमा नै पेभेलियन फर्के।
कुशल मल्ल ४६ रनमा बोल्ड आउट भए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कुशलले ४५ ओभरको पहिलो बलमा जिवनदान पाए। जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा कुशलले जिवनदान पाएका हुन्।
सन्दीप लामिछाने रनमा १५ र ललित राजवंशी ४ रनमा अविजित रहे।
युएईका लागि ध्रुव परासरले २ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे। जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लह समान २ विकेट लिए। जहिद अलीले एक विकेट झारे।










