काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा ४१ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो अघिल्लो वर्षको सोही अवधिको ५० करोड ३२ लाख रुपैयाँको तुलनामा १६.९५ प्रतिशतले कम हो । बैंकको नाफा घट्नुमा मुख्य कारण रूपमा परिचालन नाफामा गिरावट र हानि व्यवस्थापन खर्च (इम्पेयरमेन्ट चार्ज) मा भएको तीव्र वृद्धि रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशतले घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा परिचालन नाफा ४०.१५ प्रतिशतले घटेर ५९ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । सोही क्रममा हानि व्यवस्थापन खर्च ४६ करोड ८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४ करोड ३४ लाख रुपैयाँ फिर्ता भएको थियो ।
कर्मचारी खर्च ३.२० प्रतिशतले बढेर ७० करोड ३१ लाख रुपैयाँ पुगेको छ । बैंकको जम्मा निक्षेप ५.०८ प्रतिशतले बढ्दै १ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह पनि ५.१० प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । जगेडा कोष ५.७८ प्रतिशतले बढेर ६ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । तर, खुद आम्दानी (रिटेन्ड अर्निङ) नकारात्मकमा झरेको छ। अघिल्लो वर्षको ९३ करोड ६३ लाख रुपैयाँ नाफाबाट यो वर्ष माइनस ११ करोड ४२ लाख रुपैयाँमा पुगेको छ ।
पूँजी पर्याप्तता अनुपात घट्दै ८.७३ प्रतिशतमा झरेको छ, भने फन्डको लागत २६.३३ प्रतिशतले घट्दै ४.०३ प्रतिशतमा सुधार भएको छ । प्रति शेयर आम्दानी (ईपीएस) घटेर १३.८३ रुपैयाँमा पुगेको छ, अघिल्लो वर्ष १७.३२ रुपैयाँ थियो । प्रति शेयर खुद मूल्य १५४.६१ रुपैयाँ रहेको छ ।
त्रैमासको अन्त्यमा बैंकको शेयर मूल्य २०९.४० रुपैयाँमा कारोबार भएको र मूल्य–आर्जन अनुपात (P/E Ratio) १५.१४ गुणा रहेको बैंकले जनाएको छ ।











