काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।
शुक्रबार कांग्रेसका जिल्ला सभापति र पूर्वसभापतिसँगको छलफलमा कोइरालाले आफू अघिदेखि नै २०८२ मंसिरभित्रै महाधिवेशन गर्नुपर्ने पक्षमा रहेको गराए । समयको चापले मंसिरमा नसकिए पुस मसान्तसम्म महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।
‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने विषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप र अवस्था आदिका कारण यदि २०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ कोइरालाले भने, ‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ । २०८२ पुस मसान्तसम्मको तालिका बनाउँदा निर्वाचन आयोगको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।’
कांग्रेसले अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार र संयम भएर अगाडि बढ्नुपर्ने पनि उनले बताए ।











