काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकले नाफासहित अधिकांश वित्तीय सूचकमा उल्लेख्य सुधार गरेको छ।
तीन महिनाको अवधिमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ अर्ब ५१ करोड २१ लाख रुपैयाँको तुलनामा २२.९१ प्रतिशतले बढी हो। त्यस्तै, बैंकले खुद ब्याज आम्दानीमार्फत ४ अर्ब १३ करोड ३० लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोही अवधिको ४ अर्ब ११ करोड ८९ लाख रुपैयाँ भन्दा अलि बढी हो।
सञ्चालन नाफा पनि १०.४३ प्रतिशतले बढेर २ अर्ब ३७ करोड १६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकको सञ्चालन नाफा २ अर्ब १४ करोड ७४ लाख रुपैयाँ थियो।
असोज मसान्तसम्म बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ सञ्चित रहेको विवरणमा उल्लेख छ। बैंकको वितरणयोग्य नाफा पनि १ अर्ब ९१ करोड ६१ लाख रुपैयाँबाट बढेर ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी (EPS) १९ रुपैयाँ ५१ पैसा र प्रतिशेयर नेटवर्थ (Net Worth per Share) १७९ रुपैयाँ ५० पैसा रहेको विवरणमा जनाइएको छ।
ग्लोबल आइएमई बैंक हाल देशभरका शाखा, शाखारहित बैंकिङ सेवा र डिजिटल प्लेटफर्ममार्फत व्यापक सेवा विस्तार गरिरहेको छ।











