काठमाडौँ : छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । चितवन र मकवानपुर लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।
चितवनको खैरहनी नगरपालिका–८ चैनपुर चोकस्थित सडकमा मधेस प्रदेश ०३–००२ ख ०७९९ नम्बरको कन्टेनरले बा.प्र.०६–००५ प ७७६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती नगरपालिका–७ बस्ने १९ वर्षीय श्रीराम कँडेल र मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने २० वर्षीया विमला तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ माष्टरचोकस्थित सडकमा बाप्र ०३–००१ ख २६५६ नम्बरको बसको ठक्करबाट पैदल यात्री रुपन्देही देवदह नगरपालिका–८ बस्ने ३७ वर्षीय रामबहादुर बोहराको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौँडा अस्पताल मकवानपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरस्थित सडकमा लु.२ च २३५८ नम्बरको जिपको ठक्करबाट साइकल यात्री बर्दगोरीया गाउँपालिका–६ कोटा तुलसीपुर बस्ने ५५ वर्षीय शङ्कर डगौराको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य २ जना साइकल यात्रीहरूको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ भने १ जना पैदल यात्रीको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।





