काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरूमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन् ।
उनले भने, ‘धेरै साथीहरूको चिन्ता पार्टीबाट हिजो को जानु भयो, अस्ति को जानु भयो भन्ने छ । तर एक जना जान्छन् सय जना आइरहेका हुन्छन् । आजै पनि पार्टी प्रवेश गराउँदै गर्दा त्यो देखियो । त्यो भनेको संस्थाप्रति र रवि दाइले देखाएको बाटोप्रतिको विश्वास हो । एक गए सय बढ्छ भन्ने एउटा सन्देश पनि हो ।’
यस्तै, उनले सत्ता र शक्तिको अगाडि सरकारले नेपाली जनताको पीडा नदेखेको कारण भदौ २३ गतेको घटना भएको भन्दै रास्वपाले यसबारे सरकारलाई सधैँ झकझकाइरहेको पनि बताए ।
उनले भने, ‘नेपाली जनता साह्रै पीडामा छन्, एकदम आक्रोशित छन् । सत्ता, र शक्तिले त्यस विषयमा आँखा नदेख्ने हो भने परिणाम राम्रो नआउने भनेर झकझकाइरहेका थियौँ । त्यो नसुन्नुको नतिजा भदौ २३ गतेको घटना हो ।’





