ललितपुर : ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले महानगरको प्रमुख उद्देश्य नागरिकको सुरक्षा सुनिश्चित गर्नु र उनीहरूको दैनिक जीवनलाई सहज बनाउनु रहेको बताएका छन् ।
आइतबार उनले महानगरको मूल ध्यान नागरिकलाई सुरक्षित राख्ने, उनीहरूको दैनिक क्रियाकलापलाई व्यवस्थित बनाउने र र कसरी उनीहरूको इन्कम जेनेरेशनमा कसरी टेवा पुर्याउने ? भन्ने रहेको बताए।
उनका अनुसार जेनजी आन्दोलन चलिरहेका बेला ललितपुर महानगरले आफ्नो दमकल सेवा केवल ललितपुरमै सीमित नराखी काठमाडौँ महानगरका विभिन्न स्थानहरूमा समेत उपलब्ध गराएको थियो । सिंहदरबार, सर्वोच्च अदालत लगायतका ठाउँमा मात्रै ७९ पटक दमकल परिचालन गरिएको उनले उल्लेख गरे ।
महर्जनका अनुसार मन्त्री क्वार्टरमा लागेको आगो निभाउन दमकल पठाइए पनि आन्दोलनकारीले बीचैमा अवरोध गर्न खोजेका थिए । उनले नगरवासीका हितका कामहरू क्रमबद्ध रूपमा गर्दै गएको दाबी गरे।
दमकल आगो निभाउन पुगेका स्थानहरूमा समेत आन्दोलनकारीले आगजनी गरेको घटना उल्लेख गर्दै उनले अब दुई वटा अत्याधुनिक दमकल खरिदको प्रक्रिया अघि बढाएको जानकारी दिए ।
साथै, अपाङ्गता भएका व्यक्तिहरूका लागि उपलब्ध गराइएको सवारीसाधन समेत तोडफोडमा परेपछि अझ आधुनिक गाडी ल्याउने निर्णय गरिएको उनले बताए।





