काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का संयोजक घनश्याम भुसालले नेपालको वामपन्थी आन्दोलन नेताहरूको सत्तास्वार्थले कब्जा जमाउँदा गम्भीर सङ्कटमा परेको बताएका छन् ।
मङ्गलवार फेसबुकमा लामो स्टेटस लेख्दै उनले भदौ २३ को ‘जेनजी आन्दोलन’ र २४ गतेको विध्वंसबाट समाजले दिएको शक्तिशाली सन्देशलाई सबै नेताहरूले बेवास्ता गरेको आरोप लगाए ।
भुसालले लेखेका छन्, ‘यो महिना र आगामी निर्वाचनसम्म अझ ठुला दुर्घटना हुन सक्छन् ।’ उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै भने, ‘आत्मप्रशंसा, असहिष्णुता, उद्दण्डता र पपुलिज्मका कारण कमरेड ओलीले नेपालको राजनीतिक संस्कृतिलाई सबैभन्दा बढी प्रदूषित गरेका छन् । उनको बाँकी मुख्य काम एमाले पार्टीलाई कहिल्यै नउठ्ने गरी ध्वस्त पार्नु हो, जुन आगामी महाधिवेशनमा पूरा हुनेछ ।’
माओवादी केन्द्रतर्फ इङ्गित गर्दै भुसालले प्रचण्डले विचार र मुद्दाविहीन ‘ठुला नेता’हरू जम्मा गरेर ‘कचिङ्गलको कचहरी’ बनाएको टिप्पणी गरे । उनले भने, ‘समाजवाद कसरी ल्याउने ? क्रान्तिकारी पार्टी कसरी बन्ने ? जस्ता प्रश्न उठाएमा उनीहरूबीच झगडा सुरु हुन्छ । त्यसैले विचारका विषयमा छलफल नै हुँदैन, केवल पद र स्वार्थ मिलाउने खेल चल्छ ।’
उनले वर्तमान निराशाको बेला पनि क्रान्तिकारीहरूका लागि मैदान खाली भएको बताए । “रूपान्तरणकारी मुद्दा र वैज्ञानिक समाजवादी एजेन्डासहित नयाँ लोकतान्त्रिक क्रान्तिकारी पार्टी निर्माणको पहलकदमी अघि बढाउनुपर्छ,” भुसालले सबै क्रान्तिकारीहरूलाई छलफलका लागि आह्वान गरेका छन् ।






