काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले सोमबार नेकपा माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिह्न भने गुलाब रहेको छ । दल दर्ताको प्रमाणपत्र पाएपछि विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने गरी दल दर्ता गराएको बताए ।
उनले भने, ‘दल दर्तासँगै नयाँ अभियान सुरु भयो । भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने छौँ । पार्टी पङ्क्ति, नेपाली श्रमिक जनतालाई विशेष अपिल गर्न चाहन्छौँ ।’ जनतानै इतिहासको निर्माता भएको भन्दै उनले भने, ‘आज पनि जनतामा भोलि पनि जनतामा । जनताले जुनबाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौँ ।’
चुनाव हुन्छ त भन्ने पत्रकारहरूको जिज्ञासमा उनले भने, ‘चुनाव एक दिन त हुन्छ नै । समाजवाद आए पनि चुनाव हुन्छ नै ।’





