काठमाडौँ : सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन-जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ ।
बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् । गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको प्रजिअ मिश्रले बताए । अहिले पनि दुई समूहबीच झडप भइरहेको उनले जानकारी दिए ।
अहिले सिमरा जाने र सिमराबाट काठमाडौं उड्ने जहाजहरू रोकिएका छन् । प्रजिअ मिश्रले भने, ‘अहिले अवस्था सामान्य छैन । नियन्त्रणको प्रयास गरिरहेका छौँ ।’
सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालयलगायत निजी सम्पत्ति क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन कर्फ्यु जारी गरिएको प्रजिअ मिश्रले बताए । कर्फ्युको समय बुधबार दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्म लागि जारी गरिएको छ ।





