सिरहा : भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले हुलाकी सडकखण्डअन्तर्गत सिरहा–धनुषा जोड्ने क्षतिग्रस्त कमला पुलको निरीक्षण गरेका छन् ।
यो पुल ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि पुल निर्माण हुन सकेको छैन । तराई–मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ साल जेठमा रु २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ साल मङ्सिरमा सम्पन्न हुनुपर्ने थियो । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो ।
निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको हुलाकी सडक आयोजना निर्देशनालय जनकपुरधामका कार्यालय प्रमुख इञ्जिनियर कृष्णकुमार महतोले जानकारी दिए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री घिसिङले यो पुल समग्र मधेस क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले तीव्रगतिमा निर्माणकार्य अगाडि बढाइने प्रतिबद्धता जनाए ।
उनले पुल जसरी पनि बनाइने र विगतमा निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेको पनि बताए । दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने उहाँको भनाइ छ । हालसम्म रु २० करोड ४३ लाख (भ्याट)सहित भुक्तानी भइसकेको छ । पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत रहेको छ ।
बाह्रवटा स्पान भएको पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ । व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो । पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ एक हजार ३०० मिटर नदी नियन्त्रण र दुई सय मिटर पहुँच सडक निर्माण गर्नुपर्ने छ ।
अनुगमन टोलीमा मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको छ ।











