काठमाडौं : रुकुम पूर्वका नेकपा (एमाले) का नेता कैलाश कुमार मल्ल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनलाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टीमा स्वागत गरेका हुन् ।
गत चुनावमा एमालेबाट संघीय सांसदका उम्मेदवार बनेर दोस्रो बनेका मल्लले पार्टी प्रवेशका क्रममा विस्तृत राजनीतिक पृष्ठभूमि र आफ्नो निर्णयका आधारबारे स्पष्ट धारणा सार्वजनिक गरेको प्रचण्डको सचिवालयले जनाएको छ । जनताको मुक्तिका लागि चलेको जनयुद्धका कठिन दिनहरू स्मरण गर्दै उनले सेनाद्वारा गिरफ्तारी, शिवपुरीमा सहनुपरेको यातना र त्यसपछिका राजनीतिक यात्राबारे धारणा राखेका थिए ।
एमालेभित्र पारित भएका ७० वर्ष उमेर सीमा र दुई कार्यकाल सीमित गर्ने प्रावधान उल्ट्याइएकै दिनदेखि आफू निराश बन्दै गएको बताउँदै उनले पार्टीभित्र गुटगत स्वार्थ, भेदभाव र जनवादी केन्द्रीयताको हनन चरम सीमामा पुगेको आरोप लगाए । उनले माओवादी पृष्ठभूमिबाट आएका कार्यकर्ताप्रति एमाले नेतृत्वमा देखिएको नकारात्मक व्यवहार, ‘आतङ्ककारी’ ट्याग लगाउने प्रवृत्ति तथा फरक विचार राख्नेहरूलाई बहिष्कार गर्ने चरित्रले आफू पीडित भएको उल्लेख गरे ।
मल्लले जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्ड, झापा विद्रोहका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, राष्ट्रवादी छवि भएका भीम रावल, जनयुद्धका अग्रणी कमाण्डर तेजबहादुर ओली ‘प्रतिक’, कमला रोका, गणेशमान पुनलगायत नेताहरूको भूमिकाले आफूलाई पुनः मूल कम्युनिस्ट धारतर्फ फर्किन प्रेरित गरेको बताए ।
रुकुमपूर्वको शिक्षा, स्वास्थ्य, पूर्वाधार र समग्र जीवनस्तर सुधारका लागि ‘फुटेर होइन, जुटेर’ मात्र लक्ष्य पूरा हुनसक्ने विश्वास व्यक्त गर्दै उनले एमालेमा बसेर उद्देश्यपूर्ण राजनीतिक योगदान असम्भव भएको स्पष्ट पारे ।
मल्लले आजदेखि औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएको घोषणा गर्दै पार्टी इन्चार्ज तेजबहादुर ओली, पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष केशव रावल, भूमे गाउँपालिका अध्यक्ष हिमाल पुनलगायतले दिएको निरन्तर सहयोग तथा मार्गदर्शनप्रति आभार व्यक्त गरे ।











