काठमाडौँ : प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वाेच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ ।
सर्वाेच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो । राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो ।
सर्वाेच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए । कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा मंसिर ३ मा दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको हो ।
अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले छुट्टै र अधिवक्ता प्रेम राज सिलवालले छुट्टै निवेदन दायर गरेका थिए । कात्तिक १८ गतेको आदेश उल्लंघन भएको विषयमा प्रधानमन्त्री शुशिला कार्कीकै प्रत्यक्ष संलग्नता देखिएको भन्दै आदेश उल्लंघनउपर हदैसम्मको सजायको माग गरेका छन् ।
न्यायाधीशद्धय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ गते राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने भोलीपल्टै परराष्ट्र मन्त्रालयको चलानी नम्बर ३४२५ मिति २०८२।०७।१७ को पत्राचार मार्फत एघार मुलुकका राजदूतलाई मन्त्रालयमा हाजिर हुनेगरी २० गतेभित्र फिर्ता आइसक्न अर्काे पत्राचार गरेको थियो ।











