प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई पदमुक्त गर्न रक्षा बमको माग

२०८२ मंसिर ८, सोमबार

काठमाडौँ : जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई पदमुक्त गर्न माग गरेकी छन्।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको समाचार बाहिर आएपछि बमले सो माग गरेकी हुन्। साथै, उनले श्रेष्ठका परिवारका सदस्य तथा नातेदारहरूलाई दिलाएको नियुक्ति पनि खारेज गर्न माग गरिन्।

जेनजी विद्रोह रकमको भ्रष्टाचारविरुद्ध मात्र नभइ नैतिक भ्रष्टाचार, नातावाद, कृपावादविरुद्ध पनि रहेको बताइन्। साथै उनले नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम सरासर गलत भएको बताएकी छिन्।

बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘भदौ २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं। तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन्, त्यो सरासर गलत भएको छ।’

संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनका लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनका लागि बगेको रगतको अपमान भएको उनको भनाइ छ।

‘भदौ २३ मा ‘पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुँदैन। सरकार बेलैमा सचेत होओस्,’ उनले भनेकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार