तनहुँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा स्वर्णिम वाग्लेले विकासका लागि सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य गरिनुपर्ने बताएका छन् ।
जिल्लाको व्यास नगरपालिका–१ स्थित रतौली टोल विकास संस्थाद्वारा जलेश्वर महादेव मन्दिरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा सोमबार उनले विकासका लागि सबैले हातेमालो गर्नुपर्ने बताए । उपाध्यक्ष डा वाग्लले भने, “धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासीले देखाएको कार्य अनुकरणीय छ । सबै कुरा सरकारले मात्रै गर्न सक्दैन । आफ्नो क्षेत्रको विकासका लागि आमनागरिक एकजुट भएर लाग्न आवश्यक छ ।”
‘जेनजी’ प्रदर्शनपछि मुलुक नयाँ मोडमा गएको चर्चा गर्दै उनले राजनीतिमा देखिएको विकृतिलाई सङ्ल्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए । आफ्नो पार्टीले पटकपटक प्रतिनिधिसभामा यस विषयमा ध्यानाकर्षण गराउँदै आएको समेत उनले स्मरण गरे । डा वाग्लेले युवा विदेश पलायन हुने कार्यलाई न्यूनीकरण गर्दै स्वदेशमै बसेर गरिखाने वातावरण सिर्जना गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।
धर्मशाला, होम कुण्ड र शिव लिङ्ग कुण्ड निर्माण गर्ने उद्देश्यले यही मङ्सिर ६ देखि १३ गतेसम्म महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक अभिमानसिं बस्नेतले जानकारी दिए ।





