एनपिएल : काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

२०८२ मंसिर ९, मंगलवार

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले आज लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।

जितका लागि पाएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ दशमलव एक ओभरमा १३५ रनमा रोकियो । जसमा शेर मल्लले सर्वाधिक २८, दिलीप नाथले २५ रन जोडे पनि हार टार्न सकेनन् । बलिङमा काठमाडौँका मिलिन्द कुमार र जेरार्ड एरास्मसले दुई/दुई विकेट झारे । यसअघि त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनाएको थियो ।

जसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६ रनको योगदान गरे । लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडीहरू शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए । योसँगै काठमाडौँले चार खेलबाट दुई हार र दुई जितसहित चार अङ्क जोडेको छ ।

काठमाडौँको ‘प्लेअफ’को सम्भावना जीवित छ । तीन खेल खेलेको लुम्बिनीले एक खेल मात्रै जितेको छ । यो हारले लुम्बिनीको ‘प्लेअफ’को सम्भावना कठिन बन्दै गएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार