काठमाडौं : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका वागमती प्रदेश अध्यक्ष जयप्रसाद गोले नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।
बुधवार भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको नीजि निवासमा आयोजित अनौपचारिक कार्यक्रममा उनि एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले उनलाई खादा लगाएर पार्टीमा स्वागत गरे । उनले अशोक राई नेतृत्वको जसपामा समेत टुक्रा टुक्रामा विभाजित भएको कारण पार्टी परित्याग गरेर एमालेमा आएको जिकिर गरे ।
उनले मुलुकलाई स्थिर राजनीतिक अवस्थाको खाचो रहेको उल्लेख गर्दै मुलुकलाई एमालेले मात्र स्थिरता दिनसक्ने दाबी समेत गरे । ‘यो पार्टी लामो इतिहास बोकेको पार्टी पनि हो । म विद्यार्थी काममा यही पार्टीमा आवद्ध थिएँ । म जनता समाजवादी पार्टी स्थापनादेखि लागेको हो । तर जसपाले अहिले आफ्नो धारहरु परिवर्तन गर्यो । जसपा अहिले टुक्रा टुक्रामा विभाजित भइसकेको छ । यो देशलाई वास्तव स्थीर राजनीतिक अवस्थाको आवश्यकता छ । त्यो अवस्था एमालेमा देखेर पार्टी प्रवेश गरेको हुँ’ उनले भने ।









