काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुने दाबी गरेका छन् ।
शुक्रबार धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी पूर्ण रूपमा निर्वाचन केन्द्रित भइसकेको बताउँदै नेता-कार्यकर्तालाई एकताबद्ध भएर लाग्न अपिल गरे । उनले आफू उमेरले ७० वर्ष कटे पनि जेनजी पुस्ताभन्दा कम सक्रिय नभएको उल्लेख गर्दै सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रूपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
प्रचण्डले विगतको राजनीतिक परिस्थितिको समीक्षा गर्दै हिजो आफ्नै पार्टीको नेतृत्वले संसद विघटन गर्दा आफूहरूले सडकमा गएर विरोध गरेको र सर्वोच्च अदालतले त्यसलाई गैरकानुनी ठहर गरेको स्मरण गराए । उनले अहिले परिस्थिति जटिल रहेको भन्दै आगामी निर्वाचन देशको स्थिरता र निकासको मुख्य मार्ग भएको स्पष्ट पारे। एमाले अध्यक्ष केपी शर्मा ओलीले उल्टो बाटो हिँडेर जनतालाई दुःख दिएको भन्दै अब जनताले सबक सिकाउने समय आएको उनको भनाइ छ ।
देशव्यापी चर्चामा रहेको जेनजी आन्दोलनबारे बोल्दै प्रचण्डले २३ र २४ गतेका घटनालाई ‘नरसंहार’ को रूपमा चित्रित गर्दै युवापुस्ताका माग जायज रहेको दोहोर्याए।









