मतदाताले असल प्रतिनिधि छान्नेछन् : प्रधानमन्त्री

२०८२ मंसिर १३, शनिबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा असल प्रतिनिधि संसदमा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

शुक्रबार नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित रूपमा मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने आवश्यकता औँल्याउँदै यस्तो बताएकी हुन् ।

‘तपाईँहरू चुनावको तयारीमा जुट्नुभएको छ, यो खुसीको कुरा हो। तर यो चुनाव विगतभन्दा फरक हुनुपर्छ । कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुने गरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा राम्रा मान्छे पुग्छन्।’ उनले भनिन् ।

भेटका क्रममा परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकार गठन भएपछि आफ्नो पार्टीले स्वागत गरेको उल्लेख गरे । उनले गुण दोषका आधारमा समर्थन वा आलोचना गर्ने पार्टीको नीति रहेको बताए । ढकालले निर्वाचनका लागि दल दर्ता भइसकेको जानकारी दिँदै चुनावी वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गरे।

‘यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ। हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय गरेका थियौँ। अहिले निर्वाचनको वातावरण बनाउन खटिइनुपर्छ। सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ।’ अध्यक्ष ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार