काठमाडौं : नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा पूर्व उपाध्यक्ष एवं हाल नेकपामा आवद्ध नेता भीम रावलले आफूले एमाले पार्टी नछोडेको, बरु केपी ओली पक्षले सदस्यता खोसेको बताएका छन् ।
महाधिवेशनको सन्दर्भमा एमालेका कतिपय नेताहरूले आफ्नो नाम र विगतको अडानलाई लिएर चर्चा गर्न थालेपछि रावलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो नाम विधि, पद्धति, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पर्यायको रूपमा लिइएकोमा खुसी समेत व्यक्त गरेका छन् ।
रावलले आफूले पार्टी परित्याग गरेको भन्ने भाष्यलाई ‘भ्रम’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, “कतिपयले मैले उठाएको आवाजलाई गलत किसिमले अर्थ्याएर मैले नै पार्टी छोडेको जस्तो भ्रम सिर्जना गरिरहेको देख्दा आश्चर्य लागेको छ । मैले एमालेलाई राष्ट्रिय हित र विधिको बाटोमा हिँडाउन बारम्बार आग्रह गरें । मेरो यस्तो विचारबाट त्रसित ओली गुटले स्वेच्छाचारी रूपमा मेरो पार्टी सदस्यता खाएको हो ।”
उनले सत्यमाथि पर्दा हाल्ने केही व्यक्तिहरूको प्रयास निरर्थक हुने जिकिर गरेका छन् । रावलले एमालेको आगामी एघारौँ महाधिवेशनका प्रतिनिधिलाई नेतृत्व परिवर्तनका लागि अप्रत्यक्ष आह्वान गरेका छन् । उनले पार्टीलाई निरङ्कुश र अहंकारी नेतृत्वबाट मुक्त गर्न सके मात्र कम्युनिस्ट आन्दोलन बलियो हुने तर्क गरेका छन् ।
“एमालेका इमान्दार, देशभक्त प्रतिनिधिहरूबाट महाधिवेशनको अवसरमा पार्टीलाई निरङ्कुश, स्वेच्छाचारी, सिद्धान्तहीन र अहंकारी नेतृत्वबाट मुक्त गरेर अगाडि जाने बुद्धिमत्तापूर्ण काम गरियो भने देश र विशेषगरी नेपालको कम्युनिस्ट राजनीतिलाई एकताबद्ध बनाउन सहयोग पुग्नेछ,” रावलले लेखेका छन् ।






