काठमाडौँ : चलचित्र ‘एक्लो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरमा चलचित्रको विषयवस्तु झल्काउन खोजिएको छ । चलचित्रले खतरनाक भाइरसले गर्दा सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भनेको छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरिक्ष यात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास–ल्यान्डिङ गर्छन् ।
ट्रेलरमा अभिनेता प्रदीप खड्का, विजय लामा अहिलेसम्मकै फरक अवतारमा देखिएका छन् भने अभिनेत्री कविता नेपाली एक्सन अवतारमा प्रस्तुत भएकी छन् ।
नेपालमा निर्माण भएको यो पहिलो साइन्स फिक्सन चलचित्र पनि हो । फिल्ममा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, सुरजसिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डीसी लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी खत्री हुन् ।







