वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छ : मुख्यमन्त्री बानियाँ

२०८२ मंसिर २७, शनिबार

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विद्यार्थीहरूका लागि ‘पढ्दै, सिक्दै र कमाउँदै’ को वातावारण सृजना गर्न पाठ्यक्रम परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।

बागमती प्रदेश विश्वविद्यालयअन्तर्गतका आङ्गिक क्याम्पसहरूसँगको सम्झौता कार्यक्रममा शुक्रबार उनले पाठ्यक्रममा आवश्यक परिमार्जन गरी शिक्षा नीतिमा रोजगार सृजना गर्ने र डिजिटल प्राणाली अवलम्बनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । विगतको शिक्षा प्राणलीले बढी अप्राविधिक जनशक्ति उत्पादन गरेकाले बेरोजगार बढेको बताउँदै मुख्यमन्त्री बानियाँले अबको शिक्षालाई प्रविधि र सीपसँग जोड्नुपर्ने धारणा राखे ।

एक्काइसौँ शताब्दी र एआइको युगमा शिक्षालाई प्रविधि, सीप र तालिमसँग जोडेर जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै उनले परम्परागत प्रणालीमा परिवर्तन गरी प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए ।

यसअघि अभिभावकविहीन अवस्थामा देखिएको शैक्षिक संस्थालाई अब प्रदेश सरकारले आफ्नो अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले प्रदेश विश्वविद्यालय र यसका आङ्गिक क्याम्पसहरूलाई सबल र सक्षम बनाउन निगरानी र सहयोग गर्ने बताए । सो अवसरमा बागमती प्रदेश विश्वविद्यालय र पाँचवटा क्याम्पसबीच आङ्गिक क्याम्पसका रूपमा सम्झौता भएको छ ।

भवानीशङ्कर बहुमुखी कलेज, जनमैत्री बहुमुखी कलेज, कपन बहुमुखी क्याम्पस, चैतन्य बहुमुखी क्याम्पस र माडी क्याम्पससँग बागमती प्रदेश विश्वविद्यालयले सम्झौता गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार