इसेवाको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

२०८२ मंसिर २८, आईतवार

काठमाडौँ : इसेवा लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनीको उक्त सभा २०८२ मङ्सिर २४ गते बुधबार काठमाडौँस्थित मेरियट होटलमा सम्पन्न भएको हो।

साधारण सभा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा शत प्रतिशत शेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको कम्पनीले जनाएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

साथै, लेखापरीक्षकको प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरिएको छ। त्यसैगरी, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँ मूल्यको बोनस शेयर जारी गर्ने निर्णय समेत साधारण सभाले पारित गरेको छ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक सुबास शर्मा र सौगात केसीलाई पुनःनिर्वाचन गरेको छ भने आर्थिक वर्ष २०८२/८३ का लागि पीकेएफ टी आर उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था, सञ्चालन सूचक तथा बजार उपस्थिति उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट गर्दै प्रयोगकर्ता, मर्चेन्ट, नियामक निकाय र कर्मचारीप्रति धन्यवाद ज्ञापन गरे ।

यसैगरी, प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ता, सञ्चालक समिति र व्यवस्थापन टोलीको संयुक्त प्रयासले कम्पनीलाई सुदृढ अवस्थामा पुर्‍याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्यापमार्फत जोखिम न्यूनीकरणमा केन्द्रित रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार