श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२०८२ मंसिर २८, आईतवार

काठमाडौँ : संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका-६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन्। उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मंसिर ९ गते आफ्नी श्रीमती मिना हराएको भनेर प्रेमले निवेदन दिएका थिए। निवेदनपछि अनुसन्धानबाट प्रेम दोर्ची नै शंकास्पद पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो।सोधपुछको क्रममा उनले हत्या गरेको स्वीकारेका हुन्।

‘मंसिर ९ गते राति अन्दाजी साढे १० बजे ओखरेबोटे बजारबाट घर फर्किने क्रममा दुई जनाबीच विवाद भएको र बाटैमा कुटपिट गरी हत्या गरेको खुलेको छ,’ प्रहरी निरीक्षक राजवंशीले भने, ‘हत्या पछि आफ्नै अलैची बारीमा लासलाई त्रिपालमा बेरेर खाल्डो खनेर गाडेको छु भनेका थिए।’

त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो। प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार