काठमाडौं : काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत आज नेतृत्वका लागि उम्मेदवारी दर्ता गरिँदै छ।
दोस्रो दिनको बन्दसत्र अहिले बिहान ८ बजे सुरु गरिने एमालेले जनाएको छ। निर्वाचन तालिकाअनुसार आइतबार साँझ प्रकाशित मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी विरोधका लागि समय तोकिएको छ। निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर मंगलबार मतदान गर्ने तयारी छ।
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मतदाता नामावलीमा परेको दाबी विरोधको छानबिन बिहान १० बजेसम्म सक्ने योजना छ। अनि बिहान १०.१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दै छ।
उम्मेदवारी दर्ता बिहान १०.३० देखि दिउँसो १.३० बजेसम्ममा सकिनेछ। उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २.३० बजे हुनेछ।उम्मेदवारका विरुद्ध उजुरी दिने समय दिउँसो २.३० बजेदेखि आधा घण्टा राखिएको छ। उम्मेदवारविरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ। एमाले महाधिवेशनमा २२६२ जना प्रतिनिधि सहभागी छन्।








