काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडको सातौं वार्षिक साधारणसभा भैरहवामा सम्पन्न भएको छ।
साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको छ । जसअनुसार ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ।
साथै साधारणसभाले आर्थिक वर्ष २०८१-८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू पारित गरेको छ।
साधारणसभाले लेखापरीक्षकको नियुक्ति, बोनस सेयर वितरणपश्चात् प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका सामान्य तथा विशेष प्रस्तावहरु समेत अनुमोदन गरेको छ। सभामा अध्यक्ष विष्णु न्यौपानेले कम्पनी भविष्यमा अझ सुदृढ बन्दै देशकै अग्रणी सिमेन्ट कम्पनी बन्ने लक्ष्यका साथ अघि बढिरहेको बताए । उनले सेयरधनीलाई अझ बढी लाभांश दिन सकिने उपायमा कम्पनी निरन्तर क्रियाशील रहेको जानकारी गराए ।
अध्यक्ष न्यौपानेले सर्वोत्तम सिमेन्ट नेपालमै पहिलो पटक अत्याधुनिक युरोपियन भि.आर.एम. प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने उद्योग भएको उल्लेख गर्दै हाल कम्पनीसँग प्रतिदिन ३ हजार मेट्रिक टन क्षमताको सिमेन्ट प्लान्ट र ३ हजार मेट्रिक टन क्षमताको क्लिंकर प्लान्ट सञ्चालनमा रहेको जानकारी दिए ।
कम्पनी आईएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित हुनुका साथै नेपाल र भारत दुवैको गुणस्तर प्रमाणपत्र प्राप्त उद्योग हो। कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ‘ग्रिन सर्वोत्तम ओपीसी’ र ‘सौरभ ग्रिन पीपीसी’ ब्रान्डका सिमेन्ट नेपालभर बिक्री गर्दै आएको छ । भारतमा समेत निर्यात गर्दै लोकप्रियता हासिल गरिरहेको कम्पनीले जनाएको छ।








